चलचित्र ‘आचार्य’को ट्रेलरमा एक्सन र स्टन्ट

काठमाडौं । एक्सन स्टार निखिल उप्रेतीको चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । निखिलको निर्माण, लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ ।

एक्सन, सस्पेन्स र स्टन्ट रहेको ट्रेलर निखिको एक्सनको वरिपरि घुमेको छ । उनको एक्सन र स्टन्टनका लागि ट्रेलरको अधिकांश समय खर्चिइएको छ ।

निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको चलचित्रमा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीका साथै बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायतको अभिनय छ । पूर्णिकाले यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।

चलचित्रको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् । शुक्रराज शाहले एक्सन निर्देशन गरेका छन् भने बन्दे प्रसादले सम्पादन गरेका छन् ।

लेखन, निर्देशन र निर्माणसँगै चलचित्रमा मुख्य भूमिकासमेत निखिल उप्रेतीकै रहेको छ । चलचित्र असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ ।


ताजा खबर