‘बा : एक योद्धा’ले प्रिमियरमा पायो उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । सोज ९ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’ले काठमाडौंमा सम्पन्न प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ आयोजित प्रिमियरमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारहरूले यसलाई नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको कथा भन्दै प्रतिक्रिया दिएका छन् ।

नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाएको चलचित्रले विशेषगरी सन्तानका लागि बुबाले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ ।

पछिल्लो समय रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई चलचित्रले उठाएको प्रतिक्रिया प्रिमियरमा सुनियो । सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बुवाआमाको कथा र परदेश पुगेपछि परिवार तथा अभिभावकप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानको व्यवहारबीचको द्वन्द्व चलचित्रमा देखाइएको छ ।

प्रिमियरमा सहभागी दर्शकले चलचित्रको कथा धेरै परिवारसँग जोडिन सक्ने बताए । विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले यसलाई आफ्नै घरको कथाका रूपमा महसुस गर्न सक्ने प्रतिक्रिया उनीहरूको थियो ।

चलचित्र हेरेपछि अभिनेता हरिवंश आचार्यले आफू भावुक बनेको बताए । उनले चलचित्रले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको बताए ।

उनका अनुसार आफूले भोगेको बुवाको समय र चलचित्रको परिवेश फरक भए पनि अहिलेको आधुनिक समाजको वास्तविकतासँग चलचित्रको कथा नजिक छ ।

उनले भने, “मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ ।”

आफ्ना सन्तानको इच्छा पूरा गर्नु नै बुवाआमाको सबैभन्दा ठूलो चाहना हुने उल्लेख गर्दै आचार्यले चलचित्रले यही भावलाई एउटा बुवाको चरित्रमार्फत प्रस्तुत गरेको बताए ।

उनले चलचित्रमा दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको पनि प्रशंसा गरे । चलचित्रको सुरुवाती करिब ४०–४५ मिनेटमा कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि चलचित्रले दर्शकलाई समात्दै लैजाने उनको प्रतिक्रिया थियो ।

“सबै कलाकारको पर्फर्मेन्स एकदमै राम्रो छ । टेक्निक्ली पनि क्यामेरा र अरू सबै राम्रो छ । समष्टिगत रूपमा चलचित्र राम्रो लाग्यो,” उनले भने ।

विशेषगरी दिव्यदेवलाई चलचित्रले दिएको जिम्मेवारी उनले राम्रोसँग पूरा गरेको आचार्यको भनाइ थियो । आगामी पुस्ताले पनि बुवाआमाको मन र सन्तानप्रतिको उनीहरूको त्याग बुझ्न चलचित्र हेर्नुपर्ने उनले बताए ।

पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले ‘बा : एक योद्धा’लाई उत्कृष्ट चलचित्रका रूपमा व्याख्या गरे । उनले चलचित्रको कथावस्तु, प्रस्तुति र सन्देश तीनवटै पक्ष आफूलाई प्रभावकारी लागेको बताए ।

उनका अनुसार चलचित्रले अहिलेको समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई देखाएको छ ।

“हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,” उनले भने ।

परिवारभित्र छोरा–छोरी र बुहारीले आफ्नो स्वार्थलाई केही कम गर्न सके बुवाआमाले भोग्नुपर्ने धेरै समस्या नआउने उनको भनाइ थियो । चलचित्रमा असल पात्रहरूले नै दुःख र अन्याय भोग्नुपर्ने अवस्था देखाइएको भन्दै उनले त्यसलाई समाजको वास्तविकतासँग नजिक रहेको बताए ।

चलचित्रले उठाएको विषयले पारिवारिक सम्बन्धमा आत्मसमीक्षा गर्न प्रेरित गर्ने बताउँदै अर्यालले समाजमा देखिने यस्ता अवस्थाहरू परिवर्तन हुनुपर्ने धारणा राखे ।

अभिनेत्री ऋचा शर्माले चलचित्रलाई “एकदमै मिठो” प्रतिक्रिया दिइन् । उनले अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापामा पनि अभिनयको निखार क्रमशः बढ्दै गएको बताइन् ।

तर चलचित्रको मुख्य आकर्षणका रूपमा उनले अभिनेता दिव्यदेवलाई उल्लेख गरिन् ।

“यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ– दिव्य देव पन्त,” उनले भनिन्, “उहाँजस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने मेरो बुझाइ हो ।”

कलाकारको सहज देखिने अभिनयका पछाडि ठूलो मेहनत हुने उल्लेख गर्दै ऋचाले दिव्यदेवको अभिनयमा आफूले त्यही मेहनत देखेको बताइन् ।

उनले चलचित्रले दिव्यदेवलाई आफ्नो अभिनय क्षमता देखाउने राम्रो अवसर दिएको र चलचित्रको सफलताको सबैभन्दा ठूलो हकदारमध्ये उनी पनि रहेको धारणा राखिन् ।

चलचित्र ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि ‘बा : एक योद्धा’ले आफूलाई भावुक बनाएको बताइन् ।

विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र चलचित्रमा आउने “तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो” भन्ने संवादले आफूलाई निकै छोएको उनको प्रतिक्रिया थियो ।

“धेरै ठाउँमा रुवायो । अझ स्पेशली ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो । त्यो कस्तो निरीह अवस्था ! कसैको बुवा अथवा कसैको जिन्दगीमा त्यस्तो अवस्था नआओस् भन्ने लाग्यो,” उनले भनिन् ।

सन्तानले बुवाआमाप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले चलचित्रले यही विषयलाई गम्भीर रूपमा सम्झाएको धारणा राखिन् ।

‘बा : एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने व्यवहारलाई चलचित्रले कथामा समेटेको निर्माण पक्षले जनाएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो । वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

‘बा : एक योद्धा’ असोज ९ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।


ताजा खबर