काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ कात्तिक २६ गते अर्थात् नोभेम्बर १२ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
यसअघि दसैंमा प्रदर्शन गर्ने तयारी भए पनि एकै समयमा धेरै फिल्म प्रदर्शनमा आउने भएपछि वितरक तथा प्रदर्शकको सुझावअनुसार फिल्मको प्रदर्शन तिहारमा सारिएको निर्देशक भुवन केसीले बताएका छन् ।
‘दसैँमा अन्य चार चलचित्र पनि प्रदर्शनमा आउने र थप अर्को चलचित्र पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ,’ भुवनले भनेका छन्, ‘भिडेर जानभन्दा पनि मिलेर जानमा नेपाली चलचित्र उद्योगको भलाइ छ ।’
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् । पोस्टरमा अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ भने लाल्टिन र आकाशको जूनले ग्रामीण परिवेशको प्रेमकथातर्फ संकेत गर्छ ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का तथा सह–निर्माता विवेक थापा हुन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ ।
‘बाटुलो जून’ ग्रामीण परिवेशमा आधारित प्रेमकथामा निर्माण गरिएको हो ।








