काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आज बिहिबार पोस्टर सार्वजनिक गरेको हो ।
‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टरमा पाँच पण्डव अथवा सिनेमाका मुख्य पाँच कलाकारलाई राखिएको छ । हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला पोस्टरमा फिचर्ड छन् ।
पोस्टरले क्यारेक्टर रिभिल गरेको छ । पोस्टरअनुसार हरिवंश युधिस्ठिर बनेका छन् । भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।
पोस्टरमा घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँच पाण्डव छन् । युधिस्ठिर अर्थात् हरिवंश अगाडि बसेका छन् । उनको पछाडि बाँकी चारजना उभिएका छन् । पाँचै जना प्रफुल्ल चेहरामा छन् । यसले उनीहरूबीचको एकता, मिलन र भाइचारा देखिन्छ । पाँच पाण्डवको विशेषता झल्काउने पोस्टरले दर्शकको दिमागमा यो सिनेमा र यसका पात्र रजिस्टर गराउन सफल हुने आंकलन गर्न सकिन्छ । “हामीले आज सार्वजनिक गरेको पोस्टर दर्शकले पक्कै रुचाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । क्यारेक्टर रिभिल गरेका छौँ । हामीले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र सिनेमाप्रति दर्शकको प्रतिक्षा बढ्ने हामीले विश्वास लिएका छौँ,” निर्देशक वसन्त निरौलाले भने ।
तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुने चलचित्र पाँच पाण्डवको अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपाने लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । vb
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।








