काठमाडौं । ‘बुढेसकालको सहारा बन्छु’ भन्ने सन्तानले बुवाआमालाई कति सम्झिन्छन् ? यही प्रश्नलाई पर्दामा उतारेको चलचित्र ‘बाः एक योद्धा’ले अहिले दर्शकको मन छोइरहेको छ ।
‘आफू मरेर अरूलाई बचाउनु’ भनेझैँ, सन्तानको भविष्य बनाउन जीवनभर त्याग र संघर्ष गर्ने बुवाको कथा बोकेको यो चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो । प्रदर्शनमा आएसँगै चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
चलचित्र हेरेपछि धेरै दर्शकले ‘अधिकार खोज्ने तर दायित्व बिर्सने सन्तानका लागि ‘बाः एक योद्धा’ नैतिक पाठ हुन सक्छ’ भन्ने प्रतिक्रिया दिएका छन् । कतिपय दर्शकले त अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई यो चलचित्र देखाउनुपर्ने बताएका छन् ।
आखिर, सन्तानको एउटा खुसीका लागि आफ्नो जिन्दगी नै खर्चिने बुवाआमाको बुढेसकालमा उनीहरूको सहारा को बन्छ ? चलचित्रले यही प्रश्नमार्फत परिवारभित्रको सम्बन्ध र सन्तानको जिम्मेवारीलाई उठाएको छ ।
सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने दुःखसम्मको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । विशेषगरी बुवाआमादेखि टाढा बसेका सन्तानले यो चलचित्र हेर्नुपर्ने दर्शकको आग्रह छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि लम्सालकै हो ।
वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् ।








