बक्सअफिसमा ‘कबड्डी ५’ धेरै अगाडि, अरु कुन फिल्मको कमाइ कति ?

काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ घरेलु बक्स अफिसमा सबैभन्दा सफल देखिएको छ । कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १२ करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गर्दै दसैं रिलिजका अन्य फिल्मलाई निकै पछाडि पारेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार ‘कबड्डी ५’ले प्रदर्शनको १७ दिनमा अर्थात् २२ कात्तिकसम्म १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा फिल्मका ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्री भएका छन् । दसैंको बिदा र त्यसपछिका दिनमा समेत दर्शकको साथ पाएको फिल्मले अन्य प्रतिस्पर्धी फिल्मको तुलनामा बलियो व्यापारिक प्रदर्शन गरेको हो ।

दसैंमा प्रदर्शन भएका फिल्ममध्ये दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ । असोज ३० गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले २२ कात्तिकसम्म ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । फिल्मका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन् । झन्डै ७ करोडको व्यापार नजिक पुगेको फिल्मले दसैं रिलिजमध्ये दोस्रो स्थान कायम राखेको छ ।

त्यस्तै, दीपकराज गिरी समूहको निर्माण तथा अभिनय रहेको ‘छ माया छपक्कै २’ तेस्रो स्थानमा छ । फिल्मले २२ कात्तिकसम्म ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ ग्रस व्यापार गरेको छ । यसका १ लाख ६ हजार ६४४ वटा टिकट बिक्री भएका छन् ।

व्यापारिक हिसाबले भने फिल्मको प्रदर्शन अपेक्षाअनुसार सफल देखिएको छैन । यसअघिका फिल्ममार्फत बक्स अफिसमा राम्रो उपस्थिति जनाउँदै आएको दीपकराज गिरी समूहका लागि ‘छ माया छपक्कै २’ कमजोर नतिजा बनेको छ । यसको पहिलो भागले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो । दोस्रो भागको हालसम्मको कमाइ पहिलो भागको तुलनामा निकै कम छ । यही प्रवृत्ति कायम रहेमा यो समूहकै कमजोर व्यापार गर्ने फिल्ममध्ये एक बन्ने देखिन्छ ।

दसैंमा प्रदर्शन भएको अर्को फिल्म ‘१२ गाउँ २’को व्यापार पनि उत्साहजनक छैन । विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्मले २२ कात्तिकसम्म २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस कमाएको छ । फिल्मका ७५ हजार ५४० वटा टिकट बिक्री भएका छन् । यससँगै दसैंका चार फिल्ममध्ये ‘१२ गाउँ २’ चौथो स्थानमा छ ।

यसको पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँ व्यापार गरेको थियो । पहिलो भागको सफलतापछि दोस्रो भागप्रति दर्शकको अपेक्षा उच्च रहे पनि त्यसअनुसारको व्यापारिक परिणाम देखिएको छैन । हालसम्मको कमाइलाई हेर्दा ‘१२ गाउँ २’ पनि यस वर्षका कमजोर व्यापार गर्ने फिल्ममध्ये परेको छ ।

दसैंका चार फिल्मबाहेक अन्य नेपाली फिल्मले पनि बक्स अफिसमा उल्लेख्य व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट सिनेपाःमा उल्लेख भएअनुसार ‘गौँथली’ले २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्म यस वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ भने नेपाली फिल्म इतिहासकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्मको स्थानमा रहेको छ ।

त्यस्तै, ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ ग्रस व्यापार गरेको छ । यसले पनि १० करोडको आँकडा पार गर्दै व्यावसायिक सफलता हासिल गरेको देखिन्छ । ‘बाः एक योद्धा’ले भने ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको विवरणमा उल्लेख छ ।


ताजा खबर