हास्य विधामा निर्माण भएको चलचित्र ‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । समीरको निर्देशनमा निर्माण भएको सिनेमा आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ ।
पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा सिनेमाका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । जसमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा देखिने फरक-फरक हाउभाउ र भावभङ्गी देखिन्छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् ।
आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको सिनेमा मनोरञ्जनसहित सामाजिक कथामा आधारित छ । समकालीन समाजका विविध रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्दै सिनेमाले दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ ।
होराइजन मोसन पिक्चर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यस सिनेमामार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन् । सिनेमामा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारहरूको अभिनय रहनेछ ।
सिनेमाको पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पारेका हुन् ।
प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको सिनेमाका कार्यकारी निर्माताका रूपमा आभास अधिकारी छन् । विशाल कक्षपतिले छायांकन गरेको सिनेमा अभिषेक कार्कीको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफीमा बनेको छ ।








