‘पच्चीस पच्चीस’को कलाकार लाइनअप पूरा, छायांकनमा जाने तयारी

काठमाडौं । विगत लामो समयदेखि रङ्गपत्रकारिता र म्युजिक भिडियो निर्देशनमा सक्रिय सुब्रत आचार्यको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पच्चीस पच्चीस’ का कलाकारको लाइनअप पूरा भएको छ । साउनमा आधिकारिक रूपमा निर्माणको घोषणा गरिएको चलचित्र अब छिट्टै छायांकनमा जाँदै छ ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा अर्थात् ‘भक्ते भाइ’, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय छ । दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ यो चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् ।

‘अधकट्टी’ र ‘सुश्री सम्पत्ती’ जस्ता सफल व्यावसायिक चलचित्र दिइसकेका आचार्यले यसै चलचित्रमार्फत निर्देशनमा ‘ह्याट्रिक’ गर्दैछन् ।

यसले भरपुर मनोरञ्जनका साथै एउटा उत्कृष्ट सामाजिक-कमेडी कथा पस्कने दाबी निर्माण पक्षले गरेको छ ।

सामाजिक-कमेडी विधा चलचित्रको कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन् । निर्देशक आचार्यले चलचित्र नेपाली माटो सुहाउँदो हुने बताएका छन् ।

चलचित्रका निर्माता कर्ण कार्की हुन् । गत वर्ष ‘होस्टेल ३’ बाट चलचित्र निर्माणमा आएका कार्कीको यो दोस्रो चलचित्र हो । कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन् । धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माता तथा सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसर छन् । चलचित्रमा हरि हुमागाईंको छायांकन रहने छ ।


ताजा खबर