काठमाडौं । यो शुक्रबारदेखि नेपाली हलमा दुई नयाँ फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । धिराज राजवंशी निर्देशित ‘हिमालयन गोल्ड’ र अशोक थापा मगर निर्देशित ‘जलाकी’ एकै दिनबाट रिलिज भएका हुन् । दुवै फिल्मको विषयवस्तु, विधा र कथावाचन शैली भने फरक छन् ।
‘हिमालयन गोल्ड’ले हिमाली भूगोल, यार्सागुम्बा र त्यससँग जोडिएको लोभ तथा संघर्षको कथा भन्छ। थ्रिलर र ड्रामा जनरामा निर्माण भएको फिल्ममा बहुमूल्य जडीबुटी यार्सागुम्बाको लोभमा उत्पन्न हुने द्वन्द्वलाई मुख्य विषय बनाइएको छ। परिवार र आफ्नो मेहनतले तयार पारेको यार्सागुम्बाको बाली जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्ष फिल्मको प्रमुख कथावस्तु हो। अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत फिल्मले समेटेको छ ।
फिल्ममा सुनील थापा, परीक्षा लिम्बू, साजन थापा, कर्मा, मेनुका प्रधान, राहुल एन मुखिया, अंकित खड्का र सुनिल तामाङलगायत कलाकारको अभिनय छ। फिल्मको अवधि २ घण्टा १८ मिनेट रहेको छ।
अर्कोतर्फ, ‘जलाकी’ले प्रेम, त्याग र मानवीय सम्बन्धको कथा प्रस्तुत गर्छ। अशोक थापा मगरको निर्देशनमा बनेको यस फिल्मले मगर समुदायको सांस्कृतिक पहिचानलाई पनि कथाको महत्वपूर्ण पक्ष बनाएको छ। प्रेमकथाको पृष्ठभूमिमा आशा, संघर्ष र त्यागका भावनात्मक पक्षलाई चित्रण गरिएको फिल्मले दृश्य सौन्दर्य र कथावाचनमार्फत दर्शकलाई आकर्षित गर्ने अपेक्षा राखेको छ।
फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन र सहारा हाङ्मा लिम्बूलगायत कलाकारले अभिनय गरेका छन्। ‘जलाकी’को रनटाइम २ घण्टा ५० मिनेट छ।
यसरी एउटै मितिमा प्रदर्शनमा आउन लागेका यी दुई फिल्मले दर्शकलाई फरक विधाका कथा दिनेछन्। ‘हिमालयन गोल्ड’मा थ्रिलर, साहस र पारिवारिक अस्तित्वको संघर्ष हेर्न पाइनेछ भने ‘जलाकी’मा प्रेम र सांस्कृतिक परिवेशको भावनात्मक कथा छ।








