भारतीय संगीतकी बहुमुखी गायिकामध्ये एक आशा भोसलेको निधन भएको छ ।
मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको ९२ वर्षको उमेरमा निधन भएको हो । उनका छोरा आनन्द भोसलेले यस दुखद खबरको पुष्टि गरेका छन् । भोसलेको अन्तिम संस्कार भोलि (सोमबार) गरिनेछ ।
मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार केही महिनादेखि उनको स्वास्थ्य अवस्था राम्रो थिएन । शनिबार राति अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटर सहितको आइसियुमा राखिएको थियो ।
सन् १९३३ मा सांगली (महाराष्ट्र) को प्रख्यात मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरबाट व्यावसायिक गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा आफ्नो पहिलो चलचित्र गीत रेकर्ड गराएकी थिइन् ।
आफ्नी दिदी स्वर्गीय लता मंगेशकरसँगै उनले दशकौंसम्म भारतीय पार्श्व गायनमा एकछत्र राज गरिन् । ५० को दशकसम्म बलिउडमा आफ्नो बलियो स्थान बनाइसकेकी आशाले झण्डै आठ दशक लामो करियरमा हजारौं गीत गाएकी छन् । उनले ठूलो संख्यामा नेपाली गीत पनि गाएकी छन् ।
सुरुवाती दिनमा ‘क्याबरेट’ र डान्सिङ नम्बरका लागि मात्र चिनिने आशाले पछि आफ्नो गायनको दायरा फराकिलो बनाइन् । उनले ‘उमराव जान’ जस्ता चलचित्रमा गाएका गजलहरू आज पनि कालजयी मानिन्छन् ।
उनले सात पटक ‘फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायिका’ अवार्ड जितेकी थिइन् । ‘दिल चिज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।
आशाको व्यक्तिगत जीवन निकै संघर्षपूर्ण रह्यो । १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत उनले ३१ वर्षीय गणपतराव भोसलेसँग विवाह गरेकी थिइन् । तर, घरपरिवारबाट दुर्व्यवहार भएपछि सन् १९६० मा तीन सन्तानसहित उनी अलग भइन् ।
पछि सन् १९८० मा उनले प्रसिद्ध संगीतकार आर.डी. बर्मन (पन्चम दा) सँग विवाह गरिन् । बर्मनको सन् १९९४ मा निधन भएको थियो। पछिल्लो समय उनी आफ्नी नातिनी जनाई भोसलेसँग बस्दै आएकी थिइन् ।








