गरिमा शर्माको फिल्म डेब्युमा नाम आउँछ, सुटिङमा अरु नै

म्युजिक भिडियोबाट फिल्ममा छलाङ लगाउनेमा गरिमा शर्माको पनि नाम थियो ।

अघिल्लो पुस्ताका हिरोइनहरू विवाह गरेर घरजममा व्यस्त हुन थालेपछि निर्माताहरू नयाँ हिरोइनको खोजीमा थिए जसमध्ये धेरैको आँखा गरिमा शर्मामा थियो । नभन्दै धेरै निर्माताले गरिमालाई लिएर फिल्म बनाउने घोषणा पनि गरे । तर अहिलेसम्मको अवस्था के छ भने गरिमाले जम्मा एउटा फिल्ममा अभिनय गरिन्, बाँकी भने समाचारमै सीमित रहे ।

गरिमाले डेब्यु गरेको पहिलो फिल्म ‘लन्डन टु पेरिस’ थियो । तर नेपालबाट लन्डनसम्म पुगेको यो फिल्मको गाडी पेरिस पुग्न नसक्दा अलपत्र छ । अर्थात् यो फिल्मको लन्डनको भागको सुटिङ त सकिएको छ तर पेरिसको भाग बाँकी छ । यही कारण उनको डेब्यु फिल्म अड्किएकै अवस्थामा छ ।

यसपछि गरिमा नाम अन्य दुईवटा फिल्ममा आयो । उनले अभिनय गर्ने भनेर समाचारमै आएका फिल्म थिए, दौँतरी, र राजमहल । आर्यन सिग्देलको पनि अभिनय रहने भनिएको दौँतरी अहिलेसम्म फ्लोरमै निस्किन सकेको छैन ।

केही दिनसम्म गरिमाको नाम राजमहलमा पनि आएको थियो । रमेश उप्रेती र आँचल शर्माको मुख्य भूमिका रहने फिल्ममा गरिमाको पनि अभिनय रहने चर्चा थियो । तर घोषणा हुँदा गरिमाको नाम हट्यो । बरु टिकटकर मिस पबी फिल्ममा डेब्यु गर्ने घोषणा भयो । यसरी हेर्दा गरिमालाई अभिनेत्री बन्न गाह्रै भएको छ ।


ताजा खबर