६ महिना अघि भेट, अहिले हल्ला

अभिनेता विराज भट्ट र साउथ अभिनेता विजय सेतुपतिको एक तस्बिर यति बेला निकै चर्चामा छ ।

विराजले गत साता आफ्नै निर्माण र निर्देशन रहने फिल्म ‘बाह्र गाउँ’को घोषणा गरेसँगै सेतुपतिसँग भएको भेटको तस्बिर अहिले चर्चामा आएको हो।

विराज र विजयको भेटलाई कतिपयले फिल्म ‘१२ गाउँ’का लागि भेटघाट भएको भनेर अनुमान लगाएका छन् । तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै यी दुई स्टारबिचको भेटघाटलाई केही मिडियाले अर्थपूर्ण रूपमा हेर्न सकिन्छ समेत भनेका छन् । तर, विराज र विजय सेतुपतिबीचको यो भेटघाट फिल्मको लागि गरेका होइनन् । उनीहरूको यो भेट करिब ६ महिना अघि नै भएको हो ।

भोजपुरी फिल्ममा काम गर्न थालेपछि विराजको सम्बन्ध मुम्बईसँग नजिक छ त्यसै क्रममा उनको सेतुपतिसँग भेट भएको हो । यता दुई अभिनेताबिच भएको भेटघाटको विराज आफैले सामाजिक सञ्जाल फेसबुकमा ‘विजय सेतुपति सरसँग आज भेट भयो, अद्भुत अभिनेता र एक धेरै नम्र मान्छे’ भन्दै गत असार ९ गते तस्बिर सेयर गरेका थिए ।

अहिले विराजले फिल्म ‘बाह्र गाउँ’ बनाउने घोषणा गर्नु र त्यस लगतै सेतुपतिसँग भेट भएको तस्बिर सार्वजनिक हुनुले फिल्मको लागि भेट गरे भनेर हल्ला चलाइएको छ ।


ताजा खबर