याे कस्ताे स्टारडम ,जसकाे हलमा दशर्क नै छैनन् !

गत शुक्रवारबाट चलचित्र ‘‘तिम्रो मेरो साथ’ रिलिज भएको छ । लभ स्टोरी कथामा तयार भएको यो चलचित्र रमेश एम के पौडेलले निर्देशन गरेका हुन् । यस चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार सन्दीप क्षेत्री मुख्य भूमिका छन् ।

युवापुस्तामाझ उल्लेख्य फ्यान फलोइङ बनाएकी साम्राज्ञी अभिनीत ‘‘तिम्रो मेरो साथ’ सयभन्दा बढी हलमा लागेको थियो। चलचित्रको अग्रिम बुकिङ पनि राखिएको थियो । साम्राज्ञी करिब तीन वर्षपछि नयाँ चलचित्र लिएर दर्शकमाझ हलमा आएकी थिइन् । ‘रातो टीका निधारमा’ रिलिज भएपछि दर्शक माझ नदेखिएकी साम्राज्ञीका लागि यो चलचित्र अग्निपरीक्षा समेत रहेको थियो । तर, चलचित्र रिलिज हुँदै गर्दा १८ लाखसम्म पारिश्रमिक लिने नायिकाको ट्याग पाएकी साम्राज्ञीको खासै दम्भ भने देख्न सकिएन ।

शुक्रवारबाट रिलिज भएको चलचित्रको इनिसियल व्यापार हेर्दा जति नै महँगी नायिका भए पनि साम्राज्ञीलाई दर्शकले हेर्न नगएको पनि पाइयो । यस बेला कता हरायो उनको महँगी नायिका स्टारडम । साम्राज्ञीलाई हेर्न प्रमोशनका क्रममा युवापुस्तामा भीड देखिए पनि हलमा कहीँ कतै देखिएन ।

चलचित्र चलोस् भन्न साम्राज्ञीको प्रचार-प्रसारमा पनि राम्रै दौडधुप देखिन्थ्यो । उनले चलचित्र चलाउनका लागि हरदम प्रयास गरिन्, चलचित्रको कुनै-कुनै प्रचार प्रसारका कार्यक्रममा त उनी आकर्षणको केन्द्रबिन्दु नै बनेकी थिइन् । तर दर्शकलाई हलसम्म तान्ने खुबी भने राख्न सिकनन् ।

साम्राज्ञीले यसै चलचित्रको प्रचारका बेला मिडियाकर्मीसँग भनेकी थिइन्, ‘चलचित्र रिलिजको अघिल्लो रात उनलाई निदाउन निकै सकस पर्छ, त्यस बेला मनमा डर र उत्साह दुवै हुने गरेको उनले बताएकि थिइन । एक वर्षको मिहिनेत देखाउने त्यो एउटा चलचित्र चलेन भने करिअरलाई लिएर विश्लेषण पनि हुने गर्छ । तर, मलाई चलचित्र चल्छ कि चल्दैन भन्ने कुराले भन्दा पनि काम कति रुचाइन्छ भन्ने कुराले डर लाग्छ ।’

चलचित्र चलाउनलाई राम्रै जोर लगाएकी साम्राज्ञी अब यी यस्ता उनैका भनाइले के गर्छ, निन्द्रा लाग्छ या लाग्दैन उनै जानुन् । जब, उनले हरेक चलचित्रमा क्यारेक्टर नयाँ हुने जिकिर गर्दै यसमा पनि फरक रहेको दाबी गरेकी थिइन् । यति बेला उनलाई भन्ने गरिएको छ, ‘१८ लाखसम्म पारिश्रमिक लिनेको नाममा एउटा सोज पनि हाउसफूल हुन नसक्नु दुखको कुरा हो ।’

चलचित्रको व्यापार दयनीय नै छ । तर दर्शकले न त साम्राज्ञीलाई पत्याएको देखियो न त चलचित्रलाई नै । अब महँगो पारिश्रमिक लिने नायिकाको चलचित्रको त यो हविगत भयो भने बाँकीको के होला भन्ने प्रश्न सुरु भएको छ ?

चलचित्रमा खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा बिसीलगायतको पनि अभिनय रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा तथा गीत छ । चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् भने कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद छ । चलचित्रलाई शिव ढकालले छायांकन गरेका हुन् ।


ताजा खबर