सौगातको अन्तर्वाता लिदै ‘भाईरल गोर्खे’मा ऋषि धमला

यतिबेला लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको फिल्म ‘भाइरल गोर्खे’मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन् । सोमबार फिल्मका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको छ । यसमा उनी पत्रकारकै भूमिकामा प्रस्तुत छन् ।

छायांकन सेटबाट प्राप्त एक तस्वीरमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ ?’ भनेर लेखिएको निलो ब्यानर छ । फिल्ममा सौगात उटपट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल भएको पात्रको भूमिकामा छन् । उनको अन्तर्वार्ता लिन गएको सन्दर्भको दृश्यमा धमला देखिनेछन् ।

फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको निर्माण रहेको छ। फिल्मले सामाजिक सञ्जालमा भाइरल हुन जस्तोसुकै हर्कत गर्ने पात्रको कथा भन्नेछ । अमर महर्जन फिल्मका छायाँकार हुन् ।

निर्देशक निगम श्रेष्ठ निर्देशित यो फिल्ममा सौगात र धमलासहित सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागेका हुन् ।


ताजा खबर