काठमाडौं । कान्स फिल्म फेस्टिभलमा नेपालको नाम चम्काएको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । कान्समा जुरी अवार्ड जितेको यो चलचित्रले प्रदर्शनको पहिलो १० दिनमै ८५ लाखभन्दा बढी ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ १९ गतेदेखि प्रदर्शनमा आएको ‘एलिफेन्ट्स इन द फग’ले भदौ २८ गतेसम्म ८५ लाख ९५ हजार ९१० रुपैयाँ ग्रस कमाएको हो । यो अवधिमा चलचित्रका २४ हजार ४८३ टिकट बिक्री भएका छन् ।
अहिले यो चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहेको छ । कान्सको सम्मानपछि नेपालमा प्रदर्शनमा आएको चलचित्र अस्करका लागि समेत नेपालको प्रतिनिधित्व गर्ने भएपछि यसको चर्चा थप चुलिएको छ ।
अविनाशविक्रम शाह निर्देशित यो चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ । चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायतको अभिनय छ ।
यसैबीच, ‘एलिफेन्ट्स इन द फग’ ९९औँ एकेडेमी अवार्ड अर्थात् अस्करका लागि नेपालबाट छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले यसलाई नेपालबाट सिफारिस गरेको हो ।
यस वर्ष अस्करका लागि नेपालबाट ‘एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए । दुई चलचित्रमध्ये समितिले ‘एलिफेन्ट्स इन द फग’लाई छनोट गरेको हो ।








