काठमाडौं । पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपालीको मुख्य भूमिका रहने नेपाली फिल्म ‘एक्का–३’को शुभमुहूर्त गरिएको छ। बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै निर्माण टिमले फिल्मको औपचारिक सुरुवात गरेको हो।
रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्ममा पूजा, सुशील र कवितासँगै आयशा तामाङ पनि देखिनेछिन्। यसै फिल्ममार्फत आयशाले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्। शुभमुहूर्त कार्यक्रममा पूजा शर्मा र कविता नेपाली मात्र उपस्थित थिए।
निर्देशक तामाङका अनुसार फिल्मको छायांकन आगामी मंसिर २५ गतेदेखि सुरु हुनेछ। जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता तथा राजु श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा मुख्य कलाकारसँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायतको अभिनय रहनेछ।
यस फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत, साहिल खानको सम्पादन तथा राजु किराँतीको द्वन्द्व निर्देशन रहनेछ । निर्माण व्यवस्थापनको जिम्मेवारी रविन बानियाँले सम्हाल्नेछन् । काठमाडौं र चितवनमा छायांकन हुने फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।








