‘पार्वती’को कमाइ २ करोड पार, बन्यो वर्षकै चौथो चलचित्र

काठमाडौं । नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’ले बक्सअफिसमा आफ्नो सुखद यात्रा जारी राखेको छ । अघिल्लो सातासम्म १ करोड ५८ लाख ८४ हजार रुपैयाँ ग्रस कमाएको चलचित्रले पछिल्लो साताको अवधिमा करिब ४७ लाख रुपैयाँ थप्दै २ करोडको आँकडा पार गरेको हो ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार भदौ २२ गतेसम्म ‘पार्वती’को कमाइ १ करोड ५८ लाख ८४ हजार रुपैयाँ थियो । त्यसपछि भदौ २८ गतेसम्म चलचित्रले थप ४७ लाख १ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ ।

यससँगै ‘पार्वती’को कुल घरेलु ग्रस कलेक्सन २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ पुगेको छ । सो अवधिसम्म चलचित्रका ७३ हजार २२३ टिकट बिक्री भएका छन् । अहिले चलचित्र तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

यस वर्ष २ करोड रुपैयाँभन्दा बढी कमाउने चलचित्रको सूचीमा ‘पार्वती’ चौथो बनेको छ । यसअघि ‘परालको आगो’, ‘लालीबजार’ र ‘गौँथली’ले २ करोडको आँकडा पार गरिसकेका छन् ।

रसुवा भोटेकोसी बाढीको प्रभाव रहिरहेकै समयमा प्रदर्शनमा आएको ‘पार्वती’ले व्यापारसँगै सामाजिक कामका कारण पनि चर्चा पाएको थियो । चलचित्रको पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितको सहयोगमा प्रदान गरिएको थियो ।

चलचित्रको टिमले गत सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पहिलो दिनको कमाइ ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको थियो । निर्माण टिमले चलचित्र हलमा रहुन्जेल हुने कुल आम्दानीको ५ प्रतिशत रकम पनि निरन्तर बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

अटिजम भएकी एक महिलाको कथालाई केन्द्रमा राखिएको चलचित्रमा दिदी र भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई प्रस्तुत गरिएको छ । चलचित्रमा नीता ढुङ्गानाले अटिजम भएकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।

नीता ढुङ्गानाको निर्देशन, कथा तथा पटकथा रहेको चलचित्रको लेखन शिवम् अधिकारीले गरेका हुन् । चलचित्रमा नीतासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय छ ।

नीता फिल्मस प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर छन् भने दीप बराल डीओपी हुन् ।


ताजा खबर