काठमाडौं । चलचित्र ‘बाकस’को मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्माण टिमले आइतबार उनलाई औपचारिक रूपमा सिनेमाका लागि अनुबन्ध गरेको हो ।
नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने यस सिनेमामा महेशको प्रवेशसँगै मुख्य कलाकारहरूको टोली झनै बलियो बनेकोनिर्माण टिमको दाबी छ । यसअघि चलचित्रमा अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।
सुजिता चौलागाईंको निर्माण रहने यस चलचित्रको सह-निर्मातामा छत्र बहादुर खड्का र कार्यकारी निर्माताका रूपमा धर्मेन्द्र पन्त रहेका छन् । चलचित्रका संगीत पक्षमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्दैछन् भने गीतका शब्दहरू दीपक शर्मा र निर्देशक नवीन पन्त स्वयंले तयार पारेका छन् ।
अहिले अन्य बाँकी कलाकार तथा प्राविधिक टोलीको टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।
निर्देशक पन्तले भने,‘अहिले कलाकार तथा प्राविधिकहरुसँग कुराकानी भइरहेको छ । करिब करिब कुराकानी मिलिसकेको छ । टुङ्गो लाग्न मात्र बाँकी छ ।’
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने निर्माण पक्षको भनाई छ । अहिले चलचित्रको पूर्वतयारी तीव्र रूपमा अघि बढिरहेको र आउँदो दशैँ लगत्तै छायांकन (फ्लोर) सुरु गरिने योजना निर्माण पक्षको छ ।








