काठमाडौं । दसैंको माहोलसँगै नेपाली चलचित्र क्षेत्रमा दुई सिनेमाबीच प्रतिस्पर्धा सुरु भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएका ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ले दर्शकको ध्यान तान्ने प्रयास गरिरहेका छन् । एउटा चलचित्रले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको छ भने अर्कोले एक्सन, संघर्ष र प्रतिशोधको कथा प्रस्तुत गरेको छ ।
फ्राइडे रिलिजअन्तर्गत एकै दिन प्रदर्शनमा आएका दुवै चलचित्रले प्रदर्शनअघि नै गीत, टिजर र ट्रेलरमार्फत चर्चा बटुलिसकेका छन् । दुवै फिल्मप्रति दर्शकको उत्सुकता देखिए पनि वास्तविक प्रतिस्पर्धा भने हलमा दर्शकको उपस्थितिले तय गर्नेछ।
दुवै चलचित्रले पीजी सर्टिफिकेट पाएका छन् । यससँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न अभिभावकको साथ लिनुपर्नेछ ।
चन्द्र पन्तको कथा तथा निर्देशनमा बनेको ‘आ बाट आमा २’ ले आमा र सन्तानबीचको माया, त्याग र भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाएको छ । पारिवारिक प्रेम र सम्बन्धको गहिराइलाई समेटेको यस चलचित्रले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।
प्रदर्शनअघि नै चलचित्रका गीत, टिजर र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा पाएका थिए । विशेषगरी पारिवारिक भावनामा आधारित कथावस्तु यसको प्रमुख आकर्षण हो ।
चलचित्रमा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् । नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत र गम्भीर बिष्टको नृत्य निर्देशन रहेको चलचित्रलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । करण सिंह प्रोडक्सन एक्जिक्युटिभका रूपमा रहेका छन् ।
अभिनेता विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ एक्सनप्रधान चलचित्र हो । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको यस चलचित्रमा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा छन् ।
विशेषगरी बुबा–छोराको पर्दामा देखिने जोडीलाई दर्शकले कसरी लिन्छन् भन्ने चासो छ । एक्सन दृश्य र प्रतिशोधको कथाले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटानी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारको हो। महेश पौडेलले छायाङ्कन गरेको चलचित्रलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
यी दुवै चलचित्रका अघिल्ला भागले बक्सअफिसमा राम्रो व्यापार गरेका थिए । दुई वर्षअघि दसैंमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ले झन्डै २० करोड रुपैयाँ कमाएको थियो। त्यस्तै, गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ले १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो ।
अघिल्ला चलचित्रको सफलताले सिक्वेलप्रति दर्शकको अपेक्षा बढाउनु स्वाभाविक हो । तर, पुरानो सफलताकै आधारमा नयाँ चलचित्रको व्यापार सुनिश्चित हुँदैन । कथावस्तु, अभिनय, दर्शकको प्रतिक्रिया र प्रचारप्रसारले नै चलचित्रको व्यावसायिक यात्रालाई प्रभाव पार्नेछ ।
‘आ बाट आमा २’ ले भावनात्मक कथामार्फत दर्शकको मन जित्ने लक्ष्य राख्दा ‘१२ गाउँ २’ एक्सन र प्रतिशोधको कथामार्फत दर्शकलाई हलसम्म तान्ने प्रयासमा छ । फरक स्वादका यी दुई चलचित्रमध्ये कुनले दर्शकको बढी साथ पाउँछ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुँदै जानेछ ।
दसैंको बिदा नेपाली चलचित्रका लागि दर्शक तान्ने महत्त्वपूर्ण अवसर मानिन्छ । यही समयमा एकै दिन प्रदर्शनमा आएका दुई चलचित्रको प्रतिस्पर्धाले बक्सअफिसको माहोल थप रोचक बनाएको छ ।
सामाजिक सञ्जालमा देखिएको चर्चा र ट्रेलरले पाएका भ्युजले दर्शकको प्रारम्भिक चासो देखाउन सक्छन् । तर, त्यसलाई मात्रै सफलताको आधार मान्न सकिँदैन । चलचित्र हेरेर निस्किएका दर्शकको प्रतिक्रिया, सकारात्मक वर्ड अफ माउथ र हलमा हुने दर्शकको उपस्थितिले नै वास्तविक नतिजा निर्धारण गर्नेछ ।
एउटातर्फ परिवार र भावनाको कथा, अर्कोतर्फ एक्सन र प्रतिशोधको रोमाञ्च । दर्शकले कुन कथालाई बढी मन पराउलान् ? ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’मध्ये बक्सअफिसमा कसले बाजी मार्ला? यसको जवाफका लागि भने केही दिन कुर्नुपर्नेछ ।








