हास्दै रमाउँदै काठमाडौँमा ‘महाजात्रा’को छायांकन गरिँदै

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भईरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायाङ्कन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ । फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायाङ्कनमा व्यस्त छन् ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्मको छायाङ्कन बुधवार नरदेवीमा गरियो । छायाङ्कन हेर्न आइपुगेका स्थानीयवासीले शृङ्खलाको प्रतीक्षा रहेको प्रतिक्रिया दिईरहेका थिए । उक्त स्थानबाट गन्तव्यका लागि निस्किएका अधिकाँस एकछिन रोकिन्थे ।

आफ्नो प्रिय शृङ्खला र कलाकारलाई अगाडि पाउँदा धेरैले ‘फिल्म कहिले हेर्न पाइन्छ ?’ भन्ने जिज्ञासा राख्थे । निर्देशक प्रदीप भट्टराईले योजना अनुरुप नै छायाङ्कन भईरहेको जानकारी दिए । उनले भने, ‘हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ ।’

उनको निर्देशकीय शैली र कौसलता देखेर टिममा जोडिएका नयाँ सदस्य खुशी देखिन्थे । ‘जात्रा’ र ‘जात्रै जात्रा’ कै निरन्तरता भएकाले कथा कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा स्वाभविक नै हुन्छ । निर्देशक भट्टराईले फिल्मले प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् चलचित्रमा हासो र रोदनको मिश्रण छ ।

अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

दृश्यमा व्यस्त रहेका अभिनेता विपिन कार्कीले छायाङ्कनमा रमाइलो भईरहेको बताए । ‘हामी तेस्रोपटक काम गर्दैछौँ । अधिकाँसलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ । यसपटक महाजात्रा छ, दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौँ’, अभिनेता कार्कीले भने ।

अभिनेता रवीन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शक अनुरुप नै प्रस्तुत गर्ने बताए । उनले यो फिल्म आफ्नो लागि खास रहेको भन्दै काठमाडौँमा अधिकाँस र तराई केही छायाङ्कन हुने बताए ।

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग अभिनेताको रुपमा जोडिएका छन् । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ फिल्मको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यस फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।


ताजा खबर

No comments to show.