माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ। फिल्मलाई लिएर गुरुङ् उत्साहित छन्। ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले उनको उत्साह पछिल्लो समय झन बढेको छ।
दयाहाङ राई र दीया पुनको जोडी कसेर उनले समाजको कथालाई दर्शकमाझ पस्किएका छन्।
माओत्सेको विचारमा सबै कथा बुलन्द हुन्छन् । तर, त्यसलाई मनपराइने वा मननपराइने कुरा वाचकको शैलीमा भरपर्छ। उनले ‘दयारानी’को कथा फिल्ममा भन्दा प्रस्तुतिलाई खुबै ध्यान दिएका छन्। हास्यरसमा उनले समाजमा पुरुष अंहकारमाथि गम्भीर छेडखानीसँगै प्रश्न खडा गरेका छन्।
‘यो फिल्मले एउटा अंहकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ। सबै पुरुष होइन हाम्रा समाजमा केही पुरुष त्यस्ता छन् जो आफ्ना कमीकमजोरीहरुको दोष पनि अरुमाथि गर्ने, अन्तिमसम्म पनि म कमजोर छु भन्ने कुरालाई आत्मसाथ गर्ननसक्ने पुरुषको मनोवृत्ति प्रस्तुत गर्छु’, उनले भने।
यो सँगै फिल्मले पुरुषको यही अंहकारले एउटी महिलाले त्यसको दबाब कुनरुपमा झेल्नुपर्छ आफ्ना खुशीसमेत बाँड्नुपर्छ भनेर पनि आफ्नो फिल्मले देखाउने उनको भनाइ छ।
‘हाम्रो समाजमा पितृसत्ता महिलामाथि अझै हाबी छ भन्ने देख्नसक्नुहुन्छ’, उनले थपे।
‘दयारानी’ पाँच वर्ष अगाडि तयार भएको फिल्म हो। तर पर्दामा हेर्दा यो सदाबहार कथा सावित हुने गुरुङको बुझाइ छ। फिल्मले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् किनकी यो हाम्रो समाजको कथा हो। उनले यो कथा आफ्नै साथीभाइ, इष्टमित्रबिच घटेको देखेपछि आम दर्शकका लागि रुचिकर हुनसक्छ भनेर यसलाई फिल्मको रुपमा ढालेका हुन्।
यसैगरी कुराकानीका क्रममा गुरुङले निर्माताहरु तयार भएमा फिल्मको सिक्वल हेर्न धेरै समय कुर्नुपर्दैन। कथा तयार छ, निर्माताले हरियो संकेत गरे एकडेढ वर्षभित्र उनी यो फिल्मको सिक्वल पस्किन तयार छन्।
फिल्म देशविदेशका केही सिमित दर्शकहरुले हेरिसकेका छन्। जसबाट उनले राम्रो प्रतिक्रिया पाएका छन्। उनी फिल्मका कलाकारहरुको कामबाट सन्तुष्ट छन्। उनीहरुको अभिनयले कथालाई बोक्न कुनै कसर नराखेको उनी बताउँछन् । उनी अब दर्शकको सन्तुष्टिको पर्खाइमा छन् ।
					
		
		
																							
																							
																							
																							




												
												
												