फिल्म ‘ऐरी’को छायांकन गर्दागर्दै नायक सोनम तोप्देनको देब्रे खुट्टा भाँचिएको छ । एक साता अघि नायक प्रदीप खड्कासँग एक्सनको दृश्य गर्ने क्रममा उनको खुट्टा भाँचिएको हो ।
हाल उनको पोखरामा रहेको चरक अस्पतालमा उपचार भइरहेको छ । यसको जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत गराएका हुन । उनले खुट्टाको एक्स(रे तस्बिर फेसबुक स्टोरीमा सेयर गर्दै यो आफ्नो जीवनकै सबैभन्दा दर्दनाक क्षण रहेको बताएका छन् ।
सोनमले लेखेका छन्, ‘सेटमा एक लडाइँको दृश्यको क्रममा मेरो बायाँ खुट्टा भाँचिएको छ । सायद यो मेरो जीवनको सबैभन्दा भयानक र दर्दनाक क्षण हो । अहिले प्रार्थना र धैर्यका साथ बिस्तारै ठिक हुँदै छु ।’
नायक प्रदीपले रुखबाट हाफ फालेर सोनमसँग फाइट खेल्नुपर्ने दृश्य खिच्ने क्रममा प्रदीपको खुट्टा सोनमको खुट्टामा ठोकिएर खुट्टा नै भाँचिएको हो ।
सेटबाट सोनमलाई हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । सोनमको खुट्टा नै भाँचिएपछि उनको दृश्यको छायांकन अनिश्चित बनेको छ । सोनमले फिल्म ‘जलाकी’मा पनि काम गरिरहेका छन् ।
जीवन थापाको निर्देशनमा बनिरहेको यो फिल्मको छायांकन ढोरपाटनमा भइरहेको छ । ‘सम्हालिन्छ कहिले मन’बाट डेब्यु गरेका सोनमले शाम्बाला’फिल्मबाट चर्चा कमाएका थिए ।