‘माग्ने राजा’को टिजरबाट मिलेको प्रतिक्रियाले उत्साहित केदार घिमिरे

काठमाडौं । गत सोमवार अभिनेता केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको नयाँ नेपाली चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको थियो ।

चलचित्रको टिजर हालसम्म १० लाख १२ हजार ३ सय ७ जनाले युट्युबमा हेरेका छन् भने २ हजार १ सय १२ जनाले कमेन्ट अर्थात् प्रतिक्रिया जनाएका छन् ।

सार्वजनिक टिजरमा केदार घिमरेको एकछत्र राज छ । कमेडी डाइलगमा केदारलाई प्रस्तुत गरिएको छ । श्रीपेच लगाएर हिँडिरहेका उनी विभिन्न गेटअपमा देखिएका छन् । पैसाको बलमा आफूलाई राजा ठान्ने केदारको कथा टिजरमा छ । साथै, सिनेमा पूरै कमेडी जनरामा रहेको टिजरले देखाएको छ । टिजरमा केदारसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, निर्देशक ऋषि लामिछाने पनि देखिएका छन् ।

सार्वजनिक गरिएको पाँच दिनमा दर्शक र सिनेमाकर्मीबाट पाएको सकारात्मक प्रतिक्रियाले यसको निर्माणपक्ष उत्साहित बनेको छ ।

अभिनेता घिमिरेले आफूलाई नयाँ रूप र शैलिमा देखिएको प्रतिक्रिया सकारात्मक रुपमा लिएको बताए । तर, माग्ने राजा पुरानै “माग्ने” पात्रको निरन्तरतामा आधारित भएकाले यसमा अघिल्ला संवाद शैली र थेगोहरु राखिएको पनि उनले स्पष्ट पारे ।

“टिजरमा आएको दर्शकको प्रतिक्रियाले हामी निकै खुसी छौँ,” उनले भने, “पुरानो माग्नेको शैलीलाई निरन्तरता दिइए पनि, सिनेमा हेर्दा नयाँ माग्ने देख्न सकिनेछ ।”

माग्ने राजा’ टिजरको विशेषगरी संवाद र दृश्य सम्पादनको प्रशंसा भइरहेका छन् ।

निर्देशक ऋषि लामिछानेका अनुसार टिजरले अपेक्षित उत्सुकता सिर्जना गरेको छ । उनले भने, “टिजरको काम दर्शकमा कौतुहलता जगाउनु हो, र हाम्रो टिजरले त्यो जिम्मेवारी पूरा गरेको देखिन्छ ।”

पहिलो पटक केदार घिमिरेलाई मुख्य भूमिकामा प्रस्तुत गर्दा केही दुविधा रहेको उनले स्वीकार गरे । तर टिजरले दर्शकको स्वीकारोक्ति पाएपछि निर्माण पक्ष ढुक्क भएको उनको भनाइ छ ।

“हामीले माग्नेको पात्रलाई हास्यरसयुक्त कथासहित अघि सारेका छौँ । यही अपेक्षाका साथ सिनेमा हेर्नुभयो भने निराश हुनु पर्ने छैन,” निर्देशक लामिछानेले भने ।

आगामी भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रमा केदार, वर्षा, विल्सनविक्रम, शिशिरसँगै आर्यन सिग्देल, मिस पविलगायतको मुख्य भूमिका रहेको छ ।

ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र ‘माग्ने राजा’को पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।


ताजा खबर