ओस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौं । सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस गरिएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो ।

समितिका अध्यक्ष विमल पौडेलद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्रतिस्पर्धामा दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ र ‘अञ्जिला’ पुगेका थिए । प्राविधिक पक्ष, कथावस्तु प्रस्तुति, पात्रहरूको भावनात्मक गहिराइ तथा समग्र कलात्मक शिल्पलाई आधार मानेर ‘अञ्जिला’ लाई छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ।

यससँगै ‘अञ्जिला’ अब ९८औं ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीका लागि नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछ ।

मिलन चाम्स निर्देशित यस चलचित्रमा अञ्जिला तुम्पापो सुब्बा, दयाहाङ राय, स्रिजना सुब्बा, माथोसे गुरुङ, बिछय बराल, सुनिल थापा, बुध्दी तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने पटकथा/संवादमा प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले लेखेका हुन् ।


ताजा खबर