काठमाडौं । चलचित्र ‘परान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन् ।
यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन् । उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ ।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको चलचित्रमा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको बताइएको छ ।
अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा शिवराम श्रेष्ठको डीओपी र मित्र डी. गुरूङको सम्पादन छ । ‘परान’ कात्तिक १४ देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।