फस्ट लुक्स सार्वजनिक गर्दै ‘मुगलान’को प्रदर्शन मिति घोषणा

काठमाडाैं । युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने नयाँ चलचित्र ‘मुगलान’को फस्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

रेहान प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रको निर्माण टिमले सोमबार पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

आशिष ढकालले लेखन र निर्देशनमा निर्माण भएको यो चलचित्र आगामी पुष १० गते (डिसेम्बर २५) देखि प्रदर्शनमा आउने भएको छ ।

नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् । यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ ।

चलचित्र ‘मुगलान’मा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

गोमन सिंह निर्माता यस चलचित्रको को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन् । अजय रेग्मी डिओपी रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन,देबेन्द्र कुँवरको कोरियोग्राफी, रिदम कँडेलको बिजिएम छ ।

किरण भुषालको संगीत रहेको चलचित्रमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको आवाज रहेको छ । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन् ।

चलचित्र ‘मुगलान’को वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ ।


ताजा खबर