काठमाडौं । विनोद पौडेलको निर्देशनमा बनेको चलचित्र ‘भूठान’ (द वल्र्डस् ह्यापियष्ट म्यान) विश्वको प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजनमा आधिकारिक रूपमा सार्वजनिक भएको छ ।
गत जनवरी ९ तारिखदेखि अमेजनले यो चलचित्रलाई उत्तर अमेरिका (North America) क्षेत्रका लागि रिलिज गरेको निर्माता अविरल थापाले जानकारी दिएका छन् ।
यो चलचित्रलाई अमेजनमा अंग्रेजी नाम ‘The World’s Happiest Man’ बाट हेर्न सकिनेछ । अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार चलचित्रलाई क्रमशः विश्वका अन्य क्षेत्र र प्लेटफर्महरूमा पनि उपलब्ध गराउने तयारी भइरहेको छ ।
गत वैशाखमा नेपालमा समेत प्रदर्शन भइसकेको यो चलचित्रले भुटानी शरणार्थीहरूको कथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ । भुटानबाट लखेटिएर अमेरिका पुगेका एक वृद्ध शरणार्थीले आफ्नो जीवनको उत्तरार्धमा जन्मभूमि फर्कन गरेको सङ्घर्ष यसको मुख्य विषयवस्तु हो ।
भौतिक सुख-सुविधाले भरिपूर्ण पराई भूमिमा बस्नुपर्दाको उकुसमुकुस र आफ्नै धर्म, संस्कार र संस्कृतिप्रति सन्तानको बेवास्ताले सिर्जना गर्ने मानसिक द्वन्द्वलाई चलचित्रमा देखाइएको छ ।
‘भूठान’ हलिउडको प्रतिष्ठित संस्था साग अफट्रा (SAG-AFTRA) अन्तर्गत रहेर बनेको पहिलो नेपाली चलचित्र हो । यसमा नेपालका दिग्गज कलाकार हरिवंश आचार्य मुख्य भूमिकामा छन् भने दयाहाङ राई, पूजा चन्द–लामा, रिचा घिमिरे, अनुराधा मजुमदार, जोएस पाण्डे, अदिति प्याकुरेल र विमल सुवेदी लगायतको अभिनय छ ।
चलचित्रको अर्को विशेष आकर्षण हलिउडका प्रख्यात अभिनेता ब्रुस डर्नको अभिनय हो । हलिउडका प्राविधिकहरू समेत संलग्न रहेको यो चलचित्रले नेपाली सिनेमाको स्तरलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
चलचित्रलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् भने अन्जय खड्काले सम्पादन गरेका छन् । ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अवेकन प्रोडक्सन् र म्याड मंकी फिल्मसको संयुक्त ब्यानरमा यो निर्माण भएको हो । निर्माताहरूमा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन् ।
यो चलचित्रले विश्वभर छरिएर रहेका नेपाली र शरणार्थी समुदायको मन जित्ने विश्वास निर्माण पक्षको छ ।








