स्वस्तिमा खड्काको फरक अवतार: चलचित्र ‘लालीबजार’ को टिजर सार्वजनिक, वैशाख १८ मा प्रदर्शन हुने

काठमाडौं ।  ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ जस्ता व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र निर्माण गरेको प्रतिष्ठित ब्यानर षट्कोण आर्ट्सको नयाँ प्रस्तुति ‘लालीबजार’ को आधिकारिक टिजर सार्वजनिक भएको छ ।

सामाजिक र पारिवारिक कथावस्तुमा आधारित भनिएको यस चलचित्रको टिजरले दर्शकमा कौतुहलता जगाएको छ । सार्वजनिक १ मिनेट ३१ सेकेन्ड लामो टिजरमा अभिनेत्री स्वस्तिमा खड्कालाई एक विद्रोहीको भूमिकामा देख्न सकिन्छ ।

टिजरको सुरुवातमा स्वस्तिमाले बन्दुक चलाइरहेको दृश्य देखाइएको छ, जसले चलचित्रमा उनको भूमिका सामान्य भन्दा फरक र सशक्त रहेको संकेत गर्छ । टिजरले तराईको ग्रामीण परिवेश र त्यहाँको सामाजिक संरचनालाई पृष्ठभूमि बनाएको देखिन्छ । विशेष गरी ‘नथी’ प्रथा र त्यसले महिलाको जीवनमा पार्ने प्रभावलाई चलचित्रले मुख्य विषयवस्तु बनाएको बुझ्न सकिन्छ ।

टिजरमा ‘राजा साहेब’ नामक एक पात्रको दबाब र त्यसका विरुद्ध स्वस्तिमाले आफ्नो सन्तान (छोरी) का लागि गर्ने संघर्षलाई केन्द्रमा राखिएको छ । संवादहरू मार्फत चलचित्रले गम्भीर सामाजिक मुद्दा उठाउन खोजेको प्रष्ट हुन्छ ।

चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्काका साथै रविन्द्र सिंह बानियाँ, मुकुन्द एस. श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, साैगात थापा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहेका छन् भने निर्मातामा म्याक्स दिपेश खत्री र रविन्द्र सिंह बानियाँ छन् ।

यो चलचित्र आगामी वैशाख १८ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तय भएको छ ।

अघिल्ला चलचित्रहरूबाट नेपाली दर्शकको मन जित्न सफल यो ब्यानरले ‘लालीबजार’ मार्फत पनि मौलिक र सन्देशमूलक कथा पस्कने अपेक्षा गरिएको छ ।


ताजा खबर