‘कुमारी’ भोलिदेखि अस्ट्रेलिया र मध्यपूर्वका हलमा रिलिज हुने

नेपालमा गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु हुँदैछ । नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो चलचित्रको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन् । आधिकारिक रूपमा नै त्यहाँको बक्स अफिसमा रिलिज हुने यो चलचित्र यस वर्ष सर्वाधिक मन पराइएको मध्ये एक हो ।

थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले अस्ट्रेलिया वितरण गरेको ‘कुमारी’को अस्ट्रेलियाका विभिन्न राज्यहरूको शो तालिका सार्वजनिक भएका छन् । न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा ‘कुमारी’ रिलिज हुनेछ । यो बाहेक अन्य सहरहरूमा पनि क्रमशः चलचित्र रिलिज हुनेछन् ।

यस्तै, अस्ट्रेलियासँगै भोलिदेखि नै मध्यपूर्वका देशहरूमा पनि ‘कुमारी’ प्रदर्शन हुँदैछ । नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा चलचित्र रिलिज हुन लागेको हो ।

चलचित्रका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशहरूमा पनि दर्शकको माग उच्च रहेको बताएका छन् । उनले संयुक्त राज्य अमेरिका र क्यानडामा पनि चलचित्रको रिलिज छिट्टै हुने जानकारी दिए । अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत चलचित्र प्रदर्शन हुनेछ ।

दिनेश राउतको निर्देशन रहेको यो चलचित्रबाट अबिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गरेका छन् । विकास सुवेदीको लेखन रहेको चलचित्रको गीत ‘डोको बुन्ने’ अहिले चर्चाको शिखरमा छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रले जीवनमा ठुलो समस्या भोगिरहेकी एक युवतीको कथासहितको प्रेम कथा बोकेको छ ।


ताजा खबर