बालेन प्रधानमन्त्री बनेपछि अनमोलदेखि रेखासम्मले के भने ?

बालेन्द्र शाह (बालेन) देशको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाली कला क्षेत्रमा उत्साहको नयाँ लहर छाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सत्ताको बागडोर सम्हाल्न पुगेका बालेनलाई नेपाली चलचित्र र संगीत क्षेत्रका हस्तीहरूले सामाजिक सञ्जालमार्फत बधाईको ओइरो लगाएका छन् ।

आफ्नै क्षेत्रको एक व्यक्ति देशको सर्वोच्च कार्यकारी पदमा पुग्नुलाई कलाकारहरूले ‘ऐतिहासिक उपलब्धि’ र ‘परिवर्तनको संकेत’ का रूपमा व्याख्या गरेका छन् ।

अभिनेता अनमोल केसीले बालेनको नियुक्तिलाई लिएर निकै भावुक र उत्साहजनक प्रतिक्रिया दिएका छन् । बालेनलाई ‘दाइ’ भन्दै सम्बोधन गर्ने अनमोलले आफ्नो फेसबुक र इन्स्टाग्राममा एउटा विशेष पोस्टर सेअर गरेका छन्, जसमा लेखिएको छ- ‘अ न्यू च्याप्टर फर नेपाल’ (नेपालका लागि एक नयाँ अध्याय) ।

अनमोलले लेखेका छन्, “हार्दिक बधाई छ, प्रधानमन्त्री बालेन दाइ ! देशले प्रधानमन्त्रीको रूपमा आजबाट कलाकारलाई पाएको छ, यो भन्दा खुसीको कुरा हाम्रा लागि के हुन सक्छ ? तर, तपाईं कलाकार मात्र नभई सम्पूर्ण नेपालीको आशा र भरोसाको केन्द्र हुनुहुन्छ । यो जित केवल तपाईंको होइन, हामी सबैको विश्वासको जित हो ।”

स्मरण रहोस्, बालेन र अनमोलबीच निकै प्रगाढ सम्बन्ध छ । अनमोलको फिल्म ‘फर्की फर्की’ हेर्न बालेन स्वयं हल पुगेका थिए भने अनमोलले पहिलो पटक कुनै राजनीतिक नियुक्तिको खुलेर स्वागत गरेका हुन् ।

अभिनेत्री रेखा थापाले बालेनको कार्यकाल ऐतिहासिक हुने विश्वास व्यक्त गरेकी छन् । उनले बालेनलाई ‘लाखौँ नेपालीको सपना र भरोसाको केन्द्र’ भन्दै सफल कार्यकालको शुभकामना दिएकी छन् ।

अभिनेता पल शाहले सहि नेतृत्व र जनताको विश्वासले नेपाल अघि बढ्ने आशा राखेका छन् । जनताले बालेनको सरकारबाट सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना, आर्थिक विकास, शिक्षा र स्वास्थ्य सेवा सुधार, पूर्वाधार विकास र कानुनको शासनको आशा राखेको पलले उल्लेख गरेका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले पनि बालेन सरकारलाई शुभकामनासहित केही सुझाव दिएकी छन् । हरेक निर्णयमा दूरदृष्टि राख्न, चुनौतिको सामना गर्ने साहस मिलोस् भन्ने सुझाव उनको छ । जनताले गरेको आशा अनुरुप, सकारात्मक परिवर्तनको मार्गमा अघि बढ्न करिश्माले आग्रह गरेकी छन् ।

करिश्मा लेख्छिन्, ‘ यस नयाँ नेतृत्वले देशमा स्थायित्व, सुशासन, प्रगति र समृद्धि स्थापित गर्न सफल होस् भन्ने कामना गर्दछु । हरेक निर्णयमा दूरदृष्टि रहोस्, ! चुनौतीहरूको सामना गर्ने साहस मिलोस्, ! नेपाली जनताले गरेको आशा अनुरुप, सकारात्मक परिवर्तनको मार्गमा निरन्तर अगाडि बढिरहोस् । सफल, प्रभावकारी र ऐतिहासिक कार्यकालको लागि हार्दिक शुभेच्छा ।’

त्यस्तै, अभिनेत्री ऋचा शर्माले पनि नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूलाई देशको मुहार फेर्ने गरी काम गर्न आग्रह गरेकी छन् । उनले लेखेकी छन्, “अबको समय भाषणको होइन, परिणामको हो । राष्ट्रलाई फाइदा पुग्ने गरी काम भएको हेर्न चाहन्छौँ ।”

बालेनको राजनीतिक यात्रामा सुरुदेखि नै बलियो खम्बा बनेर उभिएका निर्देशक निश्चल बस्नेतले पनि खुसी व्यक्त गरेका छन् । बालेनलाई झापा–५ बाट जिताउन र रवि लामिछानेसँगको राजनीतिक समीकरण मिलाउन पर्दा पछाडिबाट ठुलो भूमिका खेलेका भनिएका निश्चलले अब ‘नेपाल हाँसेको’ हेर्न चाहेको बताएका छन् । उनले बालेनको नेतृत्वमा नेपालीहरूले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण बन्ने आशा राखेका छन् ।

अभिनेता दीपकराज गिरीले नयाँ सरकार बनेपछि गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्ने संकेत गरेका छन् । उनी लेख्छन्, ‘हामीले पनि सपथ लिनुपर्छ । आजबाट सरकारले जे गरेपनि आहा भनेर भजन गाउँदैनौं । विरोध गर्नैपर्छ भनेर बहाना निकाल्दै विरोध पनि गर्दैनौं । जयश्री राम ।’

अभिनेत्री मिरुना मगरले बालेनले सपथ लिन लागेको फोटो सेयर गर्दै आजको दिन मुलुकको आशा र सम्भावनाको समय भएको बताएकी छन् । मुलुकको वास्तविक शक्ति जनतासँग हुने बताउँदै मिरुनाले सबैजना उत्तरदायी भएमात्र विकास हुने बताएकी छन् । उनले सबैजना मिलेर समृद्ध नेपाल बनाउनुपर्ने बताएकी छन् ।

बालेन प्रधानमन्त्री बनेको खुसीयालीमा वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि युवा पुस्ताका कलाकारहरू रमेश उप्रेती, सन्दीप क्षेत्री, नीति शाह, सुहाना थापा, जसिता गुरुङ, वर्षा राउत, र साम्राज्ञी राज्यलक्ष्मी शाहले बालेनलाई सफल कार्यकालको शुभकामना दिएका छन् । यस्तै, निकिता चाण्डक, हरिहर अधिकारी, सन्ध्या केसी, प्रियना आचार्य र प्रेम पुरी लगायतले पनि सामाजिक सञ्जालमार्फत बालेनको आगमनले देशमा सुशासन र विकासको नयाँ युग सुरु हुने विश्वास व्यक्त गरेका छन् ।


ताजा खबर