‘रोल नं १’को शीर्ष गीतमा शिक्षा प्रणालीमाथि व्यंग्य

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमाको टाइटल सङ रिलिज भएको हो ।

टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ ।

सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्याङ्किङ’ (श्रेणी) को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ । जसमा एक ग्रामीण भेगको बालकको कथा देखाइएको छ । गीतका शब्दहरूले ‘अरू सबै मुर्ख, एउटै मात्र विद्वान’ भन्दै विद्यालयमा पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि कडा प्रहार गरेको छ ।

गीतले बालमनोविज्ञान केलाउने प्रयास गरेको छ । पढाइसँगै गलत शैक्षिक प्रणालीका कारण बालबालिकामा त्यसको कस्तो असर पर्छ भन्ने यो सिनेमाको मुख्य कथा हो । सिनेमाको यही थिमको वरपर रहेर चलचित्रको गीत तयार भएको छ ।

भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, ढुङ्गाले बनेका परम्परागत घर र ग्रामीण स्कुलको जनजीवनलाई बडो कलात्मक ढंगले उतारिएको छ । एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता छ भने अर्कोतिर साथीहरूसँग भलिबल खेल्ने र घुम्ने उसको रहरलाई दबाइएको देखिन्छ । ‘रट्टा मार’ भन्दै विद्यार्थीलाई बुझ्नुभन्दा पनि घोक्न लगाइने प्रवृत्तिलाई गीतले व्यङ्ग्य गरेको छ ।

गीतले सिनेमालाई अपिलिङ बनाउने बल राख्ने देखिएको छ । भविष्य उज्योजा बनाउन स्कुल जाने विद्यार्थीमा उल्टै कस्तो असर परिरहेको छ देखाउने प्रयास गीतमार्फत गरिएको छ ।

‘हरेक विद्यार्थीको कथा’ स्लोगन दिएको विनोद पौडेलको चलचित्र ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।


ताजा खबर