‘लज्जावती’ को प्रदर्शन मिति घोषणा, ‘सरप्राइज’ लुक्समा देखिए मुकुन भुसाल

अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्र ‘लज्जावती’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

काठमाडौंको धर्मस्थलीस्थित एक घरमा लगातार ४५ दिन लामो छायांकन पूरा गरी गत साता चलचित्रको ‘इन्डक्ल्याप’ गरिएसँगै निर्माण पक्षले प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशव्यापी रूपमा हलहरूमा प्रदर्शनमा आउनेछ ।

विभिन्न चरित्रमा आफूलाई अब्बल सावित गर्दै आएका भर्सटायल अभिनेता मुकुन यसपटक ‘लज्जावती’ मा विल्कुलै फरक अवतारमा प्रस्तुत भएका छन् । निर्माण टिमले सार्वजनिक गरेको नयाँ पोस्टरमा उनी काखमा बच्चा बोकिरहेको सुत्केरी महिलाको रूपमा देखिएका छन् । उनको यो नयाँ चरित्र र लुक्सले दर्शकलाई सिनेमाप्रति थप कौतुहलता जगाउने र नयाँपन दिने दाबी निर्माण पक्षको छ ।

आफ्ना अघिल्ला चलचित्रमा चरित्रप्रधान अभिनयका लागि चिनिएका मुकुनका लागि ‘लज्जावती’ को यो पात्र करियरकै एउटा विशेष मोड हुनसक्ने बुझिएको छ ।

राजबहादुर सानेको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकुनका साथमा श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

आहा फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । सिनेमालाई कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकायाले संयुक्त रूपमा निर्माण गरेका हुन् भने कार्यकारी निर्माता दिनेश राज बुढाथोकी रहेका छन् ।

चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

यो चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ ।


ताजा खबर