हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

नेपाली हास्य अभिनय क्षेत्रका चर्चित कलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन भएको छ। अमेरिकी समयअनुसार शुक्रबार बेलुका करिब ८ बजे बाल्टिमोरस्थित मिडस्टार युनियन मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

अस्पतालमा उपस्थित कलाकार तथा मोडल मनिष शर्माका अनुसार स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार उनलाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट फ्र्याङ्कलिन स्क्वायर अस्पतालमा रिफर गरिएको थियो, जहाँ उपचारकै क्रममा उनले अन्तिम सास फेरे।

शर्मासँग विभिन्न टेलिशृंखला र कार्यक्रमहरूमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले पनि सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका छन्। पौड्यालले फेसबुकमा भावुक सन्देश लेख्दै आफूले एक असल साथी र सहकर्मी गुमाएको उल्लेख गरेका छन्।

नेपाली टेलिभिजनका दर्शकमाझ ‘चतुरे’ नामले अत्यन्त लोकप्रिय शर्मा लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए। उनले थुप्रै नेपाली फिल्म, टेलिफिल्म तथा हास्य श्रृंखलामा अभिनय गरेर छुट्टै पहिचान बनाएका थिए।

विशेषगरी ‘चतुरेको दाउपेच’ मार्फत घरघरमा परिचित बनेका शर्माले आफ्नो स्वाभाविक अभिनय, हाजिरजवाफी र हास्य प्रस्तुतीमार्फत दर्शकको मन जितेका थिए। उनको निधनसँगै नेपाली हास्य अभिनय क्षेत्रले एक परिचित र लोकप्रिय कलाकार गुमाएको छ।

उनको निधनप्रति कलाकार, शुभेच्छुक तथा नेपाली समुदायले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।


ताजा खबर