रामराजाले निर्देशन गर्ने चलचित्रलाई नायिकाको अडिसन आह्वान

नेपाली सिनेमामा फरक धारका र सफल चलचित्र निर्माण गरेर आफ्नो छुट्टै पहिचान बनाएका निर्माता अविरल थापाले आफ्नो नयाँ प्रोजेक्टका लागि नायिकाको खोजी सुरु गरेका छन् ।

‘बुलबुल’ र ‘भूठान’ जस्ता प्रशंसित चलचित्रका निर्माता थापाले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सूचना जारी गर्दै नयाँ नायिकाका लागि आवेदन आह्वान गरेका हुन् ।

निर्माता थापाले यसअघि निर्माण गरेको चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कार जित्दै आफूलाई उद्योगमा स्थापित गरेकी थिइन् । त्यस्तै, उनको पछिल्लो चलचित्र ‘भूठान’ मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले समीक्षक समाजको तर्फबाट ‘उत्कृष्ट अभिनेता’ को अवार्ड हात पारेका थिए ।

सफल कलाकारलाई थप उचाइ दिने र नयाँलाई स्थापित गराउने छवि बनाएका थापाले यसपटक पुनः नयाँ अनुहारलाई मौका दिन लागेका हुन् ।

निर्माता थापाको यो नयाँ रोमान्टिक चलचित्रलाई निर्देशक रामराजा दाहालले निर्देशन गर्नेछन् । हाल ‘अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडिज’ का प्रिन्सिपल रहेका दाहाल करिब १२ वर्षपछि निर्देशनमा फर्कन लागेका हुन् । उनले यसअघि ‘वशमा छैन मेरो मन’, ‘कसम हजुरको’, ‘गुरु दक्षिणा’ र ‘नेपथ्य’ जस्ता सफल चलचित्रहरूको निर्देशन गरिसकेका छन् । लामो समयको प्राज्ञिक अनुभवपछि उनी पुनः पर्दामा जादु छर्न तयार देखिएका छन् ।

निर्माता थापाका अनुसार भविष्यमा बन्ने यस रोमान्टिक चलचित्रका लागि इच्छुक युवतीहरूले डिजिटल माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदनका लागि कम्पनीको आधिकारिक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरी फर्म भर्नुपर्नेछ ।

अब खोजेको नायिकामा पनि दमदार अभिनय क्षमता हुनपर्ने र हेदैमा स्टार भाइव्स आउने लुक्स हुनपर्ने उनले बताए । उनका अनुसार जुलाई १६ अर्थात २०८३ असार मसान्तसम्म फर्म भरिसक्नपर्ने र छानिएकाहरुको साउनभित्र अडिसन हुनेछ र वर्कशपमा राखिनेछ । उनी आत्मविश्वासका साथ भन्छन्- ‘यसमा जो छानिन्छ उ भविष्यको सुपरस्टार नायिका बन्नेछिन् ।’

निर्माता थापाले अब बन्न लागेको प्रेमकथा अहिलेसम्म नेपाली चलचित्रमा कहिल्यै नदेखिएको र यसले दर्शकहरुलाई मन्त्रमुग्ध बनाउँदै बिगतको सम्झनामा पुर्याउने बताए । दशैं लगत्तै चलचित्रको छायाँकन गर्ने लक्ष्य राखिएको छ ।


ताजा खबर