टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश

गत वर्ष कात्तिक २१ गते प्रदर्शन भएको चलचित्र ‘मन विनाको धन’को सिक्वेल बन्ने भएसँगै निर्माण पक्षले कलाकार भित्र्याउने कामलाई तीव्रता दिएको छ ।

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको ‘मन विनाको धन २’मा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी अनुबन्धित भइसकेका छन् । अब यस चलचित्रमा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ ।

निर्माण टिमले विपिनसँग मंगलबार औपचारिक सम्झौता गरेसँगै चलचित्रको कलाकारहरुको बलियो लाइनअप बनेको छ ।

यो चलचित्रमा अभिनेत्री पूजा र अभिनेता विपिनको पहिलो सहकार्य हुँदैछ । नेपाली रजतपटमा लामो समयदेखि सक्रिय रहे पनि यी दुई कलाकारले अहिलेसम्म स्क्रिन सेयर गरेका थिएनन् । ‘मन विनाको धन २’ मार्फत पूजा र विपिन पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन्, जसले कौतुहलता पैदा गरेको छ ।

चलचित्रमा विपिनको भूमिका कस्तो हुनेछ भन्ने विषयलाई निर्माण पक्षले अहिले गोप्य नै राखेको छ । यद्यपि, निर्देशक बुढाथोकीका अनुसार विपिनले यो सिनेमामा एक विशेष र भिन्न ‘अवतार’ मा आफूलाई प्रस्तुत गर्नेछन् ।

निर्देशक बुढाथोकी भन्छन्, ‘हामीले केही सातादेखि विपिनजीसँग संवाद गरिरहेका थियौं । उहाँले फिल्मको कथावस्तु सुन्नेबित्तिकै निकै मन पराउनुभयो र काम गर्न उत्साहित हुनुभयो । उहाँको उपस्थितिले फिल्म थप बलियो बनेको छ ।’

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा पनि निर्देशक बुढाथोकी स्वयंकै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीको छ ।

सामाजिक कथावस्तुलाई उठान गर्ने यसको पहिलो भाग ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो । पहिलो भागको सफलताले हौसिएका निर्देशक बुढाथोकी यसपटक दोस्रो भागलाई प्राविधिक र कथा दुवै हिसाबले अझ उत्कृष्ट बनाउने तयारीमा छन् ।

हाल फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम भइरहेको छ र चाँडै नै छायांकनको मिति तय गरिने निर्माण पक्षले बताएको छ ।


ताजा खबर