‘अक्षरा’को कोरिया वितरण अधिकार बिक्री

आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ ।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो ।

यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले पनि यो फिल्म हेर्न पाउने भएका छन् । यद्यपि, फिल्म कति रकममा बिक्री भयो भन्ने बारेमा निर्माण पक्षले केही खुलाएको छैन ।

प्रदर्शन मिति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार बिक्री हुनुलाई फिल्म क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।

सोनी थापा (ढुङ्गाना)को प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन् ।

फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्। अभिनेत्री न्यान्सीले यसअघि ब्लकबस्टर फिल्म ‘१२ गाउँ’मा काम गरिसकेकी छन्।

यस फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो।

फिल्ममा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।


ताजा खबर