भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् ।
पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ । पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ । जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने बाँकी तीन सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन् ।
घरको आँगनमा तस्बिर खिचाइरहेका उनीहरू सबै हँसिलो चेहरामा छन् । भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दसैँको समयको संकेत गरिरहेको छ । साथमा कुकुर पनि छन् । यसले इमानदार परिवारको बिम्वको काम गरेको छ । तस्बिरमा देखिएका पात्र र उनीहरूको पहिरनले मध्यम बर्गीय परिवार रहेको अनुमान लगाउन सकिन्छ ।
दोस्रो पोस्टरका पात्रको चेहरामा कौतुहलता र तनाव छ । यो पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा केही अचानक आएको अनपेक्षित घटनाले कौतुहलता सिर्जना गरेको देखिन्छ । यो पोस्टरमा रहेका दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा रिस देखिन्छ । यो पोस्टरमा रहेका अर्का पात्र हुन्, माओत्से गुरुङ । उनको अनुहारमा भने कुटिल मुस्कान देखिएको छ । यसले उनी खलपात्रका रुपमा त रहेका छैनन् भनेर शंका गर्ने ठाउँ छ ।
सार्वजनिक दुई पोस्टरले एक सुखी परिवारमा अचानक आएको केही अनपेक्षित घटनालाई संकेत गरेको छ । यसले पारिवारिक उतारचढाव र त्यसको बैठानका लागि हुने संघर्ष वरिपरि सिनेमाको कथा रहने अनुमान लगाउन सकिन्छ ।
नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती नै हरि लम्सालको निर्देशन रहेको चलचित्रको मुख्य कथा हो ।
चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।
निर्देशक हरि लम्सालको लेखन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।








