वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनको मैदानमा फर्किँदै छन् । उनको निर्देशनमा तयार भएको चलचित्र ‘कमला मिस’को शनिबार नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमाको सार्वजनिक पोस्टरले चलचित्रको गम्भीर र भावनात्मक पक्षलाई उजागर गरेको छ ।
पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक आफ्नो अँगालोमा बेरेकी छिन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’को पोस्टरले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ ।
यो चलचित्र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व विजय मल्लको प्रख्यात नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित छ ।
चलचित्रमा नीर शाह आफैँ पनि मुख्य भूमिकामा देखिनेछन् भने उनीसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल लगायतका कलाकारहरूको मुख्य भूमिका छ । अन्य कलाकारहरूमा भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा रहेका छन् ।
निर्देशक शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रेनिश फागोको रङ संयोजन, मुकेश शाहको ध्वनि मिश्रण, भोला सुवेदीको निर्माण व्यवस्थापन तथा सगर बोहराको मुख्य सहायक निर्देशन रहेको छ ।
‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् ।








