काठमाडौं । साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।
प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा फिल्मले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपा: बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ । १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ । फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ ।
‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो ।
हिजो आइतबार पनि चलचित्रको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो । यो चलचित्रले आगामी दिनमा अझै ठूलो व्यापारिक उचाइ लिने अनुमान गरिएको छ ।
हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ । ‘लालीबजार’ पहिलो स्थानमा छ । ‘गौंथली’को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोडको आँकडा पार गर्दै वर्षकै नम्बर १ फिल्म बन्ने निश्चित देखिएको छ ।
पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ । कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका सिनेमा भन्दै चलचित्रको तारिफ गरिरहेका छन् । एउटै परिवारबाट १०÷१५ जनासम्मले सिनेमा हेरिरहेका छन् । हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रुपमा बढी देखिने गरेको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यो चलचित्रले डा. कपिललाई सफल निर्देशकको रूपमा स्थापित गरिदिएको छ ।
‘गौंथली’ को कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयलाई दर्शकले रुचाएका कारण नै बक्स अफिसमा यो तहको सफलता हासिल गरेको छ ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी छन् ।








