लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन

अजय देवगनका फिल्म ‘दे दे प्यार दे’ र ‘सन अफ सरदार’ निकै हिट भएका थिए । अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदै छ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुवै फिल्मको छायांकन सुरु गर्नेछन् ।

रिपोर्ट अनुसार अजय देवगनले जुनदेखि लन्डनमा ‘दे दे प्यार दे- २’ र ‘सन अफ सरदार- २’ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय ‘सिंघम अगेन’ र ‘रेड- २’ को सुटिङमा व्यस्त छन् । यी दुवै फिल्म मेमा पूरा हुनेछन् । यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदै छन् । उनीहरूको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले ‘दे दे प्यार दे- २’ र त्यसपछि ‘सन अफ सरदार- २’ को सुटिङ गर्नेछन् ।

‘दे दे प्यार दे- २’ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ । जसलाई अंशुल शर्माले निर्देशन गर्दै छन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म सन अफ सरदार- २ को लागि ल्याइएको छ ।

अजय देवगनसँग एक–दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी ‘रेड- २’, ‘दे दे प्यार दे- २’, ‘सन अफ सरदार- २’, ‘गोलमाल- ५’, ‘सिंघम अगेन’, ‘धमाल- ४’, ‘दृश्यम- ३’ र ‘शैतान- २’ मा देखिनेछन् ।

अजय देवगनको पछिल्लो फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा पनि काम गर्नेछन् ।


ताजा खबर