अरुण ‘म मदनकृष्ण’मा हरिवंश बन्ने

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ ।

यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । अरुण अहिले बक्सअफिसमा ब्लकबस्टर सिनेमा ‘गौँथली’का मुख्य पात्र हुन् ।

अरुणले अब ‘म मदनकृष्ण’सँगै यही टीमले सिरिजकै रूपमा निमार्ण गर्नै हरिवंश अचार्यको बायोपिक चल्चित्रका लागि पनि एकैपटक साइन गरेका हुन् ।

“हामीले म मदनकृष्णमा हरिवंशको रोलमा अरुणलाई लिएका छौँ । यो सँगै एकैपटक अब हरिवंश आचार्यको जीवन कथामा बन्ने बायोपिकमा पनि हरिवंश दाइको मूमिकामा अरुणलाई साइन गराएका छौँ,” मिलनले भने, “हामी सशक्त अभिनय गर्ने कलाकारको खोजी गर्दै जाने क्रममा अरुणसम्म पुगेका हौँ । उहाँलाई हरिवंशको भूमिकामा पक्कै पनि सबैले मन पराउनु हुनेछ भन्ने लागेको छ ।”

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘म मदनकृष्ण’ निर्माणको केही दिन अगाडि घोषणा गरिएको थियो ।

बायोपिक ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।

म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको छ । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् ।


ताजा खबर