काठमाडौं । चलचित्र ‘बलिदान’को शीर्ष गीत ‘बलिदान’ रिलिज भएको छ । ‘बलिदान’ बोलको गीतमा हर्क साउदको शब्दरचना तथा संगीत र स्वर सुजन चापागाईंको छ ।
गीतमा जन्म दिने आमा र हुर्काएर जीवन दिने आमाको प्रशंसा गरिएको छ । आफ्ना सारा सपना त्यागेर सन्तान हुर्काउने आमाको त्याग गीतमा समेटिएको छ । त्यस्तै छोराले आमामाथिको अन्याय रोक्न गरेको प्रयासलाई गीतले समेटेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र ऋचा शर्मा फिचर्ड छन् । ‘बलिदान’मा समीर र ऋचासँगै सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई दशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।