एकसाथ प्रदर्शनमा आए ‘बेहुली’ र ‘पेन्सनपट्टा’

फ्राइडे रिलिजमा आजबाट चलचित्र ‘बेहुली’ र ‘पेन्सनपट्टा’ प्रदर्शनमा आएका छन् । यी दुई चलचित्र आज एकै दिनबाट प्रदर्शनमा आएका हुन् ।

विपद्ले प्रतिकूल अवस्था सिर्जना गरेको समयमा पनि यी दुई सिनेमा प्रदर्शनमा आएका हुन् । ‘बेहुली’मा कुल व्वाई र दीव्या रायमाझी मुख्य भूमिकामा छन् ।

‘पेन्सन पट्टा’मा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् । प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सहनिर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् ।

माओत्से गुरुङको निर्देशन रहेको चलचित्र ‘पेन्सनपट्टा’ले धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको छ ।

चलचित्रमा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । चलचित्रमा सुशन प्रजापतिले छायांकन गरेका छन् ।

फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् । निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् ।

सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक रहेको फिल्ममा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् ।


ताजा खबर