‘आचार्य’को ‘लै बरी लै’ सार्वजनिक, निखिल रोमान्टिक मूडमा

काठमाडौं । एक्सन किङ निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको नेपाली फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ। फिल्मको टिजर र फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको ‘आचार्य’को गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको चासो थप बढेको छ।

निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको फिल्मको ‘लै बरी लै’ गीतमा निखिल उप्रेतीसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई यस गीतमा भने रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ।

निखिलले यसअघि पनि आफ्ना फिल्ममा एक्सनसँगै रोमान्टिक नम्बरमा आफूलाई प्रस्तुत गर्दै आएका छन्। यसपटक पनि उनी एक्सनसँगै रोमान्टिक अवतारमा देखिएका छन्। गीतमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

फिल्मको टिजर र फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै बजारमा चर्चा पाइरहेको ‘आचार्य’को ‘लै बरी लै’ सार्वजनिक भएपछि निखिलको रोमान्टिक अवतारले थप चर्चा बटुलेको छ। विशेषगरी एक्सन किङको परिचय बनाएका निखिललाई रोमान्टिक शैलीमा हेर्न पाउनु गीतको मुख्य आकर्षण बनेको छ।

‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ। पूर्णिका यही फिल्ममार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन्।

फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन निर्देशन शुक्रराज शाहको छ। बन्दे प्रसादले सम्पादन गरेका छन्। फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै रहेको छ।

एक्सन, रोमान्स र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको ‘आचार्य’ले सुरुवाती दिनमै बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। फिल्म असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।


ताजा खबर