सेन्सर बोर्डबाट ‘यूनिभर्सल सर्टिफिकेट पाएको ‘अक्षरा’ असोज२३ गते शुक्रबारबाट हलमा लाग्दै

काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘अक्षरा’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि मंसिर २४ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र अब आगामी असोज २३ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको हो ।

गत भदौ १० गते रसुवामा आएको बाढी–पहिरोपछि सिर्जिएको परिस्थितिलाई मध्यनजर गर्दै निर्माण पक्षले मंसिर २४ लाई गरेको थियो ।

नयाँ मितिमा चलचित्र प्रदर्शनका लागि आवश्यक तयारी अघि बढाइएको निर्माण पक्षले जनाएको छ ।

यसैबीच, चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सर्वसाधारणले हेर्न मिल्ने ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरिसकेको छ । यससँगै चलचित्रको प्रदर्शनका लागि आवश्यक सेन्सर प्रक्रिया पनि पूरा भएको छ।

‘अक्षरा’ले अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई कथाको मुख्य विषय बनाएको छ । पारिवारिक सम्बन्ध, सामाजिक सोच र छोरीको इच्छामाथि केन्द्रित चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक विषयमा सोच्न बाध्य बनाउने निर्माण पक्षको अपेक्षा छ ।

चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन् । उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् । चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका हुन् ।

चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र कर्णराज गिरीको संगीत रहेको छ। चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन् ।

निर्माण पक्षले सामाजिक विषयवस्तुलाई केन्द्रमा राखिएको ‘अक्षरा’ले दर्शकको मन जित्ने अपेक्षा राखेको छ । चलचित्र असोज २३ गते शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।


ताजा खबर