मार्टिन एन डार्विनको लेखन तथा निर्देशनमा ‘द प्रोफेसनल गाइज’ निर्माणको घोषणा

जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले चलचित्रको शीर्षक सार्वजनिक गर्दै यसको क्रेडिटसमेत सार्वजनिक गरेको हो।

‘द प्रोफेसनल गाइज’ को लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले गर्नेछन्। त्यस्तै, सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरमा अमन श्रेष्ठ रहेका छन्। चलचित्रको निर्माता अमन श्रेष्ठ र डार्विन श्रेष्ठ हुन् भने सह- निर्मातामा मार्टिन भण्डारी रहेका छन्।

‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ स्लोगनका साथमा चलचित्रको घोषणा गरिएको हो।

चलचित्रको टाइटल घोषणा भने निकै रोचक ढंगले गरिएको छ। निर्माण टिमले एक विशेष भिडियो सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो। भिडियोमा प्रयोग गरिएका शब्द, प्रस्तुति र शैली अन्य सामान्य टाइटल घोषणाभन्दा फरक तथा आकर्षक देखिन्छ।

घोषणा भिडियोमार्फत नै चलचित्रप्रति कौतुहलता सिर्जना गर्ने प्रयास गरिएको छ। चलचित्रमा को–को कलाकार रहनेछन्, कथा तथा विषयवस्तु के हुनेछ र निर्माण तथा प्रदर्शन मिति कहिले तय हुनेछ भन्ने विषयमा भने निर्माण पक्षले थप जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ।


ताजा खबर