डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको ‘जम्प’ फिल्मको आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर भएको छ । निर्धारित समयभन्दा केही ढिलागरी सुरु भएको प्रिमियर कार्यक्रममा संचारकार्मी तथा फिल्मकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रिमियरमा हेर्न निर्देशक सुवर्ण थापा तथा निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेवको साथमा फिल्म लेखक प्रदिप भारद्वाज आदि पुगेका थिए । प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको र हलिउड फिल्ममा रुचि राख्नेका लागि यो फिल्म विशेष रुचिकर हुनसक्ने प्रतिक्रिया दिएका थिए ।
उनीहरुले फिल्मको शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिए । ‘जम्प’ फिल्मले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । फिल्मले एउटा एथ्लेटिक्स खेलाडीको कथा पेस गर्छ। जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सोलाई पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढावको कथा भन्छ।
यो फिल्म बलिउड फिल्म ‘तुम्बाड’ तथा ‘रन लोला रन’ शैलीका फिल्म पनपराउनेहरुका लागि रोजाइको फिल्म हुनसक्ने प्रतिक्रिया प्रिमियरमा सहभागी एक फिल्म समीक्षकले बताए ।
प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले आफूलाई प्राप्त प्रतिक्रियाहरुबाट आफू उत्साहित बनेको बताउँदै दर्शकबाट माया पाउने अपेक्षा गरेको बताए । एडसिनेमा बनाउँदै आएका उनले आफू अर्को एक फिल्मको तयारीमा रहेको बताएका छन् ।
यस्तै सानो बजेटमा यत्तिको फिल्म बन्नु आफूमा एउटा उपलब्धि भएको प्रतिक्रिया फिल्मले पाएको थियो । फिल्म हाल बन्दै आएका नेपाली फिल्मको झण्डै दुईतिहाइ कम बजेटमा तयार भएको हो । फिल्म युवा दर्शकका लागि रुचिकर हुने बताइएको छ । डेब्यू निर्देशकले फिल्ममा इमानदार प्रयास गरेका छन् ।
फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ । सेन्सर बोर्डले यो फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । फिल्म शुक्रबारबाट रिलिज हुँदैछ ।


