प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘महाजात्रा’को प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। हिजो मंगलबार बेलुका काठमाडौंको सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मीहरुको बाक्लो उपस्थितमा सम्पन्न भएको हो।

प्रिमियरमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, प्रकाश सपुत, रामबाबु गुरुङ, पूर्णेन्दु झा, सौरभ चौधरी, गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, आश्मा विश्वकर्मा लगायत उपस्थित थिए ।
प्रिमियर हेरेपछि अधिकांशले कथावस्तु, कमेडी संवाद र कलाकारको अभिनयको तारिफ गरे । कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । त्यस्तै, अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा फिल्म हेर्दा राम्रो लागेको बताए ।
फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो फिल्म यस बर्षकै प्रतिक्षित फिल्म हो।
