‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौं। उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा अभिनेता दयाहाङ राई र मिरुना बिचको प्रेम, पति पत्नीको भूमिकामा रहेका अभिनेता प्रवीण खतिवडा र अभिनेत्री मेनुका प्रधानबिचको घरायसी झगडा तथा प्रवीण र मिरुनाको विवाहोत्तर सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ।

ट्रेलरले मनसराको भूमिकामा रहेकी मिरुना मगरको कथा वरपर अन्य उपकथाहरू जोडेर चलचित्र बनेको प्रस्ट पार्छ। लिम्बु संस्कृतिकी एकल महिला कुनै सहरको कुनाको छाप्रो बस्तीमा बस्दै आएको र उनको खोजीमा दया निस्केको कथा ट्रेलरमा पाइन्छ।

यस चलचित्रले नेवार समुदायकी युवती (मेनुका प्रधान)सँग विवाह गरेका ब्राह्मण युवा (प्रवीण खतिवडा) र लिम्बु समुदायकी (मिरुना मगर) बिचको कथा पेस गरेको छ।

यसअघि ब्लकबस्टर चलचित्र ‘जारी’ निर्देशन गरेका सुब्बाले निर्देशन गरेको ‘मनसरा’ प्रतीक्षित चलचित्र हो। यो चलचित्र आगामी वैशाख २१ गते रिलिज हुँदैछ । यसमा दया, मिरुना, प्रवीण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ। यसमा निर्देशक सुब्बाकै लेखन रहेको छ।


ताजा खबर