मोफसल टुरमा फिल्म ‘मनसरा’को टिम

निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मनसरा’को टिम यतिबेला मोफसल टुरमा छ। यतिबेला तीव्र प्रचारका क्रममा यसको टिम देश दौडाहामा छ । फिल्म निर्माण टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपालमा कविता सुनाइरहेको छ ।

पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जन भन्दा बढी कविता सुनाएका थिए । कार्यक्रममा नायिका मिरुना मगरले आफ्नी आमाले रचना गरेको कविता सुनाएकी थिइन् ।

त्यस्तै, यो फिल्मको मुख्य कलाकारहरू मेनुका प्रधान, प्रवीण खतिवडा, जीवन बरालले कवि सुब्बाले लेखेका कविता वाचन गरेका थिए । यो फिल्मको टिमले आज इटहरी र बेलबारीमा कविता कन्सर्ट गर्दै मोफसलको प्रचारलाई टुङ्ग्याउने छ।

यो फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन तथा निर्माण छ । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । त्यस्तै, यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र सिजन दाहाल कार्यकारी निर्माता हुन्।

वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकारहरू प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त वुढाथोकी, शान्ति गिरी, नेनहान राइको अभिनय छ ।


ताजा खबर